काभ्रे,
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरू भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।