यश कुमार परियार–साउन २७,
२०७७,काभ्रे/

नेपाली कांग्रेस बनेपा नगर समितिले बनेपा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज नगर सभापति राम जोसीले नगर प्रमुख लक्ष्मी नरसिंह वादे र उपप्रमुख रेखा दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विश्व भर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण काभ्रेमा पनि दिनानुदिन कोरोना संक्रमित बढिरहेको र सबै भन्दा बढि बनेपा नगरमा रहेका कारण यसको रोकथामका निमित्त नगर प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाईएको नगर सभापति राम जोशीले बताए ।

ध्यानाकर्षण पत्रमा बाह्य जिल्ला तथा क्षेत्रबाट बनेपा नगरपालिका प्रवेश गर्ने नाकाहरुमा कडाईकासाथ चेकजाँच गर्ने व्यवस्था मिलाउन, बनेपा नगर क्षेत्रभित्रका फुटपाथका पसलहरु तत्काल हटाउन, नगरभित्रका अत्यावश्यक (खाद्यन्न, स्वास्थ्य सेवा, इन्धन) बाहेक पसल, होटल, रेष्टुराँ तथा कलकारखानाहरु आजकै मितिबाट १५ दिनको लागि बन्द गर्न, अत्यावश्यक सेवा र एम्बुलेन्स बाहेकका सवारी साधनहरुलाई तत्काल बन्द गर्न भनिएको थियो ।

यस्तै अत्यावश्यक काम बाहेक मानिसहरुको आवत–जावत र हिडडुल बन्द गर्न, विना मास्क सडकमा हिडेका मानिसहरुलाई सचेत गराई मास्क लगाएर मात्र हिड्न दिने व्यवस्था मिलाउन, दुई हप्ताएता बाह्य जिल्लाबाट बनेपा आई बसोबास गरेका मानिसहरुको पहिचान गरी होम क्वारेटिनमा राख्ने र पिसिआर परिक्षण गर्ने व्यवस्था गर्न, अत्यावश्यक सेवाको लागि सञ्चालन भएका प्रत्येक पसल तथा सेवाप्रदायकको पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाउन र संक्रमितहरु बढ्दै गएको संख्यालाई ध्यान दिई उपचारको लागि आईसोलेसन वेड सहितको अस्थायी उपचार केन्द्रको निर्माण गर्न पत्रमा उल्लेख गरीएको छ ।

Facebook Comments