काभ्रे,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज साँझ ५ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
उहाँले एक वर्षमा भएका कामकारबाहीको फेहरिस्त सुनाउने र आगामी योजना घोषणाको तयारी गर्नुभएको बुझिएको छ । प्रचण्डले प्रधानमन्त्रीको रूपमा गत वर्ष पुस १० गते नियुक्त भइ भोलिपल्ट शपथ लिनुभएको थियो । प्रधानमन्त्रीको रूपमा प्रचण्डले १ वर्ष पूरा गरेको भने यो पहिलो पटक हो । २०६५ र २०७३ सालमा प्रधानमन्त्री बन्नुभएका प्रचण्ड १ वर्ष नपुग्दै पदबाट हट्नु परेको थियो ।