काभ्रे,
नेपाली काँग्रेसले आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । दिवसको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा लोकतन्त्र प्राप्तिका लामो योगदान दिएका, बृहत शान्ति सम्झौताका पक्षधरसहितका शक्तिलाई बोलाएर दिवस मनाउन लागिएको काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीलगायत दलका शीर्ष नेतालाई बोलाइएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने बोलाइएको छैन । लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका लागि योगदान नभएकाले यी २ दललाई निमन्त्रणा नगरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।