काभ्रे,
अझै केही दिन चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ । चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिइएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा अहिले मौसम सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद झाले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यसवर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छ ।