रोशी सहकर्मी–भदौ २३,
२०७७,भकुण्डे/

नमोबुद्ध नगरपालिकाले नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवाहरु भदौ २८ गतेसम्म वन्द गर्ने निर्णय गरेको छ । यसअघि एक साताका लागि भदौ २२ गतेसम्म सेवा वन्द गरिएकोमा कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येजनर गर्दै भदौ २८ गतेसम्म सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

भदौ २३ गते मंगलबार बसेको नगरप्रमुखस्तरीय निर्णयबाट भदौ २४ गतेदेखि सेवा वन्द गरिएको जनाउँदै नगरपालिकाले यसबाट नगरबासीमा पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ । नमोबुद्ध नगरपालिकाले एक कर्मचारीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएपछि भदौ १४ गते बसेको नगर कार्यपालिकाको बैठकबाट भदौ २२ गतेसम्म सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको थियो ।

यसबीचमा ती पुरुष कर्मचारीको कन्ट्याक्ट ट्रेसिङको क्रममा २१ जनाको स्वाब संकलन गरिएकोमा २० जनामा कोरोना भाइरस संक्रमण नरहेको पाइएको थियो भने एकजना महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । दुबैजना कर्मचारी अहिले नगरपालिकाको आइसोलेसनमा रहेका छन् ।

Facebook Comments