यश कुमार परियार–भदौ २५,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा स्वास्थ्य मापदण्ड पुरा गरी व्यवसाय खोल्न पाईने भएको छ । गाउँपालिका अध्यक्ष डि.बि. लामाले एक सुचना जारी गर्दै कोभिड १९ को महामारी यथावत रहेको भएता पनि राजधानी लगायतका क्षेत्रहरुमा निशेधाज्ञा खुकुलो बनाउँदै लगेको सन्दर्भमा गाउँपालिका भित्र अत्यावश्यक सेवाहरु लगायत अन्य सेवाहरु समेत मापदण्ड पुरा गरी नियमित रुपमा संचालन गर्न पाईने जनाईएको छ ।

सुचनामा भौतिक दुरी, मास्क, स्यानिटाइजर तथा साबुन पानीले हात धुने ब्यवस्था गरेरे होटल, रेष्टुरेन्ट तथा अन्य पसल व्यवसाय सञ्चालन गर्न भनिएको छ । खुल्ला स्थानमा भेला, भिडभाड तथा सभा जुलुस गर्न भने प्रतिवन्ध लगाईएको छ । सरकारी तथा सार्वजनिक संस्था, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर नियमित रुपमा प्रवाह सुरु गर्न पनि पालिकाका अध्यक्ष लामाले जारी गरेको सूचनामा भनिएको छ ।

पालिकाले तरकारी, दुध तथा अन्य खाद्य सामाग्री ढुवानी गर्ने गाडीका सवारी चालक, सहचालक र ब्यवसायीसँग कम्तीमा २ को भौतिक दुरी कायम गरेर मात्रै खरिद बिक्री गर्न पालिकाले नियम बनाएको छ । पिसिआर नेगेटिभ रिपोर्ट बाहेक विदेश तथा स्वदेशकै अन्य जिल्लाबाट आउने सबै नागरिक पालिकाले तोकेको क्वारेन्टाइनमा अनिवार्य बस्न पालिकाले आग्रह गरेको छ ।

यसैगरी पालिकाले योजना सम्झौता गर्न बार निर्धारण गरेको छ । पालिकाले आइबार र सोमबार वडा नम्बर १, २, ३ र ४ का योजना सम्झौता गरिने छ । त्यस्तै मंगलबार र बुधबार ५, ६, ७ र ८ नम्बर वडाको योजना सम्झौता गरिने छ । बिहिबार र शुक्रबार ९, १०, ११ र १२ नम्बर वडाको योजना सम्झौता हुनेछ । पालिकाले भौतिक दुरी कायम गरेर उपभोक्ता समिति गठन गर्न पनि आग्रह गरेको छ ।

Facebook Comments