रोशी सहकर्मी–असोज ४,
२०७७,धुलिखेल/

मालपोत कार्यालयको प्रारम्भिक कार्य भू–सेवा का लागि धुलिखेल नगरपालिका, बनेपा नगरपालिका र तेमाल गाउँपालिकाले अनुमति लिएका छन ।
असोज १ बाट नै सेवा प्रारम्भ गर्ने गरी यी तीन पालिकाले अनुमति लिएको मालपोत कार्यालय काभ्रेका निमित्त प्रमुख ऋषिकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले नमूनाका रुपमा केही जिल्लाका केही पालिकामा नमूनाका रुपमा काम सुरुवात गरेकोमा काभ्रेपलाञ्चोक जिल्ला पनि छनौट भएको हो । उहाँले काभ्रेका १३ वटै स्थानीय तहमा सुरु गर्ने तयारी भएको बताउनुभयो ।

भू–सेवा पालिकाका पालिकामा गएपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने विश्वास लिइएको छ । पालिकाहरुले सम्पूर्ण काम अनलाइन मार्फत मालपोत कार्यालय पठाएपछि सेवाग्राही कार्यालय आउनुपर्ने हुन्छ ।

मालपोत कार्यालयले १३ वटै स्थानीय तहका तीन/तीन कर्मचारीलाई भू–सेवा सम्बन्धि अभिमुखिकरण तालिम समेत दिइसकेको जनाएको छ । नेपाल सरकारले स्थानीय तहबाटै जग्गा सम्बन्धि काम हुने बताएपनि जिल्लाका केही स्थानीय तहमा भौतिक पूर्वधार, दक्षजनशक्तिको अभाव, गुणस्तरीय इन्टरनेट, बिद्युतिय सेवा, सडक सञ्जाल लगायतका कारण तत्काल सेवा सूचारु गर्न कठिनाई हुने पालिकाले बताएका छन ।

सरकारले सुविधा सम्पन्न पालिकाहरुमा उक्त सेवा शुरु गर्ने गरी आर्थिक वर्षको २०७७/७८ बाट मालपोत कार्यालयबाट प्रदान भइरहेका जग्गा प्रशासन सम्वन्धी केही सेवाहरु स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप भूमि ब्यवस्थापन तथा अभिलेख विभागले २०७७ साउन ६ गते मालपोत कार्यालय काभ्रेलाई पत्र लेख्दै जिल्लाका सबै स्थानीय तहहरुलाई जग्गा प्रशासन सम्वन्धी जानकारी तथा अभिमुखिकरण गराउन स्थानीय तहका कर्मचारीहरुलाई सहभागिताका लागि अनुरोध गरेको थियो ।

Facebook Comments