काभ्रे,
नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो । तर यी दुई देशबीच नेपालबाट कतारमा श्रम गरिरहेका नेपालीहरूबारेमा कुनै किसिमको सम्झौता भएन ।
दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न ८ वटा विषयमा सहमति आदानप्रदान गरिएको हो । उक्त वार्ताका क्रममा दुई देशका सरकारका मन्त्रालयहरूबीच ६ वटा र निजीक्षेत्रबीच पनि २ वटा विषयमा सम्झौतापछि हस्ताक्षर भएको हो ।
नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी
१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।
२. राष्ट्रिय समाचार समिति (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता ।
३. नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र ।
४. नेपाल सरकार र कतार सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।
५. महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालयबीच सहकार्यका लागि समझदारी पत्र ।
६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान र कतारको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।
७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता ।
८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीचको समझदारी नवीकरण ।