यश कुमार परियार–कात्तिक २८,
२०७७,काभ्रे/

काभ्रे जिल्लामै पहिलो पटक जनजागृती आधारभुत विद्यालयले विद्यार्थीहरुलाई निःशुल्क सियुजी सिम वितरण गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं २ मा रहेको यस विद्यालयले हाल सम्म ७० जना विद्यार्थीहरुलाई सिम कार्ड वितरण गरेको विद्यालयकी प्रधानाध्यापक शितल दाहालले जानकारी दिईन् ।

नेपाल टेलिकमको 4G सेवा भएको सियुजी सिमकार्ड अनलाईनबाट पठनपाठन गर्न र सिकाई सहजिकरण को निमित्त वितरण गरिएको दाहालले बताईन् । कोरोना भाईरसका कारण शैक्षिक गतिबिधि बन्द भएको समयमा फोन तथा अनलाइन को माध्यमबाट शैक्षिक क्रियाकलापमा सक्रिय बनाउनको निमित्त सिमकार्ड वितरण गरिएको उनको भनाई छ । अझै पनि विद्यार्थीहरु भर्ना हुन बाँकि रहेको र सिमकार्ड दिने कार्य जारी रहेको उनले जानकारी दिईन् । सिमकार्ड पाउनको लागि अविभावकले नागरिकताको फोटोकपी र फोटो सहित सम्पर्क गर्न पनि उनले आग्रह गरिन् । नमोबुद्व नगरपालिका वडा नं २ को कार्यलयले सिमकार्ड व्यवस्थापन गर्न सहयोग गरेको थियो ।

के हो सियुजी सिम ?
सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने उदेश्यले नेपाल टेलिकम र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा नेपाल टेलिकमले प्रिपेड मोबाइल ‘पाठशाला सियुजी सिम’ निःशुल्क उपलब्ध गराउने छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत टेलिकमले सस्तो दरमा यस्तो सिम दिन थालेको हो ।

यो सिममा अनलिमिटेड भ्वाइस सेवा, पाँच जिबी डेटा र बल्क एसएमएस उपलब्ध हुनेछ । सिमबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निःशुल्क चलाउन समेत सकिन्छ । केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ । यो योजना अनुसार प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज्ड युजर ग्रुप (कज) मा आबद्ध गरिने छ । कर्पोरेट युजर ग्रुप बनाउनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड दिइनेछ ।

सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गरेर प्रत्येक विद्यालयका यी फोन नम्बरलाई यो सेवामा आवद्ध गराइन्छ । यो सेवाअन्तर्गत सिमकार्डका लागि प्रत्येक विद्यार्थी र शिक्षकको नागरिकता र परिचयपत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकप्रति फोटो चाहिन्छ । सिम लिएपछि शिक्षक, विद्यार्थी र अभिभावकबीच असीमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने मन्त्रालयले जनाएको छ ।

Facebook Comments