माघ ११,
२०७७,धुलिखेल/

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फन्टलाइनमा काम गर्र्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, जोखिममा रहेका सामाजिक अभियान्तालाई खोप लगाउने निर्णय गरेसँगै काभ्रेमा पनि त्यसको तयारी थालिएको छ । काभ्रेले खोप लगाउने अस्पताल, जोखिममा रहेकाहरुको पहिचान गरि सकेको जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले काभ्रेको धुलिखेल अस्पताल र भकुण्डेमा रहेको मेथिनकोट अस्पतालबाट कोरोनाको खोप दिने बताउनुभयो । आज (आइतबार) स्वास्थ्य कार्यालयमा भएको पत्रकार सम्मेलनमा उहाँले खोप लगाउनका लागि धुलिखेल र मेथिनकोट अस्पताल छनौट भएको बताउनुभयो । उहाँका अनुसार धुलिखेल अस्पतालबाट बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर नगरपालिका, भुम्लु, चौँरीदेउराली, बेथानचोक र खानीखोला गाउँपालिकामा फ्रन्टलाइनमा काम गर्नेले खोप लगाउने छन । त्यस्तै मेथिनकोट अस्पतालमा नमोबुद्ध नगरपालिका, रोसी, तेमाल र महाभारत गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायतले खोप लगाउने छन ।

काभ्रेबाट तीन हजार ५८१ जनालाई कोरोना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख झाका अनुसार सरकारी स्वास्थ्यकर्मी ७४९, प्राइभेट स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी एक हजार ३६८, महिला स्वास्थ्य स्वयमसेविका ९५५ जना, सरसफाईकर्मी ३३९ जना, एम्बुलेन्स चालक ४४ जना र शव व्यवस्थापनमा खटिएका १२६ जनाले खोप पाउने छन ।

अक्सफोर्ड/एस्ट्राजेनकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप बिहीबार नेपालमा आइपुगेको छ । काभ्रेमा माघ १४ गते खोप आउने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

Facebook Comments