काभ्रे,
सुक्खा पहिरो झरेर अवरुद्ध बनेको अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका थिए । उक्त सडकखण्डमा पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय तह र सडक विभागसँगको समन्वयमा अवरुद्ध सडक दुई तर्फी नै खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।