काभ्रे,
मङ्सिर १ गतेबाट सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो । यो निर्णय आउँदो मङ्सिर १ गतेबाट लागू हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
नेपालमा बर्सेनि करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो ।