काभ्रे,
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ३ स्थित भञ्ज्याङगाउँकी माईली लामाको हत्या आरोपमा आफ्नै कान्छो छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरेर आमाको हत्या आरोपमा छोरालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । कात्तिक १६ गते अपराह्न सवा ४ बजे ६९ बर्षीय माइली लामा आफ्नो घरको भान्सामा मृत भेटिनुभएको थियो ।
उहाँको २८ बर्षीय कान्छो छोरा फुर्साङले कोठामा सुतिरहेकी आमाको सुनको रिङ र नगदको लोभले सिलौटोको लोहोरोले हानेर अचेत बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । लोहोरा प्रहारबाट अचेत बनेको आमालाई पुनः ढोकाको आग्लो प्रहार गरी हत्या गरेको पक्राउ परेका फुर्साङले बयान दिएका छन् । आग्लोले प्रहार गरी मृत्यु भएपछि आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई फुर्साङ घटनास्थलबाट भागेका थिए ।
‘घटनाबारे जानकारी पाउने वित्तिकै खहरेपागुँ, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी परिचालन गरेका थियौं, घटनाको प्रकृति, स्थानीय र परिवारका सदस्यको बयान समेत सुन्दा छोराको गतिविधी शंकास्पद देखियो,’ पत्रकार सम्मेलनमा एसपी खड्काले भन्नुभयो, ‘उनले भनेका कुरा काल्पनिक जस्ता लागेर शंकाको घेरामा राखेर अनुसन्धान गरेका थियौं, छोराले हत्या गरेको स्विकारेपछि कर्तव्य ज्यान मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाएका छौं’– एसपी खड्काले भन्नुभयो ।
घटना विवरण अनुसार, काठमाडौंमा रात्रीकालिन व्यवसायमा रहेका फुर्साङ तिहारको लागि भन्दै १२ गते घर आएका थिए । साथमा १४ सय रुपैयाँ मात्रै रहेका फुर्साङले आमा सुतिरहेको बेलामा कानमा लगाउने सुनको रिङ र पैसा देखेपछि ‘लोभ पलाएर’ आमाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । उनको साथबाट सुनको बिल बरामद भएको थियो भने रगत लागेको ३ हजार पैसा र सुनको रिङ खाल्डो खनेर घर पछाडी लुकाएको बयान दिएका थिए ।