काभ्रे,
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रे र नेपाली सेना बिष्णुदल गणको आयोजना एवम् रोशी गाउँपालिकाको समन्वयमा मंगलटार स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा १ सय ९४ जनाले स्वास्थ्य सेवा पाएका छन् ।
स्वास्थ्य चौकीकी प्रमुख निशा बरालका अनुसार दन्तरोग विशेषज्ञ सेवामा ४८ जनाले, नाक, कान घाटी विशेषज्ञ सेवामा ३१ जनाले, स्त्रीरोग विशेषज्ञ सेवा २१ जना र जनरल चेकअप सेवामा १ सय ५४ जनाले सेवा प्राप्त गरेका थिए ।
शिविरमा १५ जना सुत्केरी र १० जना गर्भवती महिलाहरूलाई झुल , हर्लिक्स र स्यानेटरी किड्स समेत वितरण गरीएको छ । शिविरमा आवश्यक औषधी निःशुल्क वितरण गरिएको थियो । शिविरमा सहभागी हुनेहरूलाई लाइफ ब्वाई साबुन बितरण गरिएको थियो ।
बाढी र पहिरोमा परि अस्पतालमा पुगेर उपचार गर्न नसकेका नागरिकको स्वास्थ्य उपचारको लागि गाउँपालिकाको समन्वयमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।
गत असोज १० देखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढी र पहिरो पश्चात रोशी गाउँपालिकाको वडा नं. ९ मंगलटारमै, वडा नं. ८ खार्पाचोक, वडा नं. ७ कटुञ्जेबेशी, वडा नं. ३ शिखर आम्बोटे र वडा नं. १ खहरेपाँगुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भईसकेको उहाँले भन्नुभयो । आगामी दिनमा पनि स्वास्थ्य शिविर आयोजना गर्दै जाने उहाँको भनाई छ ।
शिविरमा रोशी गाउँपालिका अध्यक्ष दिनेस लामा, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख कृष्ण गिरी, मंगलटार स्वास्थ्य चौकी प्रमुख निशा बराल लगायतको सहभागिता रहेको थियो ।