काभ्रे,
सिरहाको मिर्चैयामा १४ वटा निजी स्वास्थ्य संस्थाको अनुगमन गर्दा १३ वटा अवैध रहेको पाइएको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सिरहाको मिर्चैयामा १४ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्दा १३ वटा अवैध पाइएको हो । शनिबारको अनुगमनपछि १३ अस्पताल तथा पोलिक्लिनिकहरू अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको हो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार टोली अनुगमनका लागि मिर्चैया पुग्दा स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिएका आठ अस्पताल तथा पोलिक्लिनिकहरू बन्द गरेर सञ्चालकहरु फरार भएका थिए । मुख्यमन्त्री सिँहले हालसम्म १५७ निजी स्वास्थ्य संस्थाहरूको अनुगमन गरिसक्नु भएको छ । तीमध्ये १७ वटा अस्पताल मात्र मापदण्डअनुसार सञ्चालनमा रहेका पाइएका छन् ।