काभ्रे,
जिल्ला प्रशासन कार्यालय काभ्रेले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको हो ।
माघ २१ गतेभित्र अनिवार्य रूपमा इजाजत प्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो ।
साथै, अगामी चैत २० गतेपछि सोही कार्यालयमा भरपाई पेस गरेमा सम्बन्धित हातहतियार धनीलाई मात्र हातहतियार फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ।
व्यक्तिगत सुरक्षाका लागि आफूसँग भएका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा नबुझाए कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।














