काभ्रे,
काभ्रे जिल्लाको पनौती नगरपालिकाले आ.व २०८०÷२०८१ को लागि १ अर्ब ५० करोड रुपैया बराबरकोे बजेट प्रस्तुत गरेको छ । हिजो (सोमबार) आयोजित १३ औं नगर सभा सभामा २०८०÷२०८१ को नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्यवसहितको बजेट पास भएको हो । नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको आन्तरिक आय ४० करोड ७१ लाख, राजश्व बाँडफाँडबाट २० करोड ९ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागिता सहित जोडेर १ अर्ब ५० करोड रुपैया बराबरको बजेट विनियोजन गरिएको हो ।
नगर प्रमुख रामशरण भण्डारीले आगामी वर्ष नगर स्तरीय योजनाहरु ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताउनु भएको छ । नीति तथा कार्यक्रममा नगर स्तरीय सबै र वडा स्तरीय १० लाख रुपैयाँ भन्दा माथिका सबै योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख गरिएको छ । तर बजेटमा जनसहभागिता मार्फत ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ । वडा कार्यालय पुग्ने सडक कालोपत्रे, सिसि क्यामेरा जडान, ढलको पहुँच नभएका स्थानमा सोकपिट बनाउन प्रेरित गर्ने, जेटिङ्ग मेशिनको प्रबन्ध गर्ने, नगर क्षेत्रका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण सम्र्वद्धन र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
त्यसैगरी,डिजिटल पनौतीको अवधारणलाई पूर्णता दिने, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने, भूमिहीन सुकुम्बासीहरुलाई धनी प्रमाणपुर्जा वितरण गर्ने, प्रदुर्षण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नगर भित्र औद्योगिक ग्रामको स्थापना गर्ने, माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गर्ने, खोपासी स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा रूपान्तरण गर्ने, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इ लाइब्रेरी सर्भरको व्यवस्था गरी अनलाइन शिक्षामा पहुँच विस्तार गर्ने, ८० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई संघ संस्था एवं नगरको सहकार्यमा तीर्थाटन गर्ने उल्लेख गरेको छ ।
सुशासन तथा संस्थागत विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, महिला तथा बालबालिका, बालमैत्री स्थानीय शासन, पूर्वाधार विकास, सम्पदा, वन तथा वातावरण, पर्यटन, सहकारी, पञ्जिकरण तथा सामाजिक सुरक्षा, विपद व्यवस्थापन, सूचना तथा प्रविधि, प्राकृतिक श्रोत व्यवस्थापन, सार्वजनिक सम्पत्ति उपयोग तथा संरक्षण, प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत नगरपालिकामा गर्ने विभिन्न योजना र कार्यक्रमका बारेमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।