काभ्रे,
नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ को लागि अनुमानित ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ बजेट ल्याएको छ । हिजो नगरपालिकाको दोस्रो नगर सभाको पाचौं अधिवेशनको दोस्रो बैठकमा आर्थिक बर्ष २०८१÷८२ को लागि नगर उपप्रमुख रत्नबहादुर लामाले अनुमानित ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ बजेट सार्बजनिक गर्नुभएको हो । बैठकमा बार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
चालुतर्फ १७ करोड २ लाख २१ हजार ८ सय १४ र पुँजीगततर्फ ६० करोड ८ लाख २४ हजार ६ सय २९ रुपैयाँँको बजेट प्रस्ताव गरेको छ । बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो भने न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले चालु आर्थिक बर्ष २०८०÷८१ को वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक बर्षको हालसम्मको अवधीमा ६१ प्रतिशत वित्तिय प्रगति भएको छ ।