काभ्रे,
राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समयमा कक्षा १२ को वार्षिक परीक्षा हुने जनाएको छ । बोर्डको भर्खरै सकिएकोे बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बताउनुभयो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।
तर आज बिहान बसेको बोर्ड बैठकले परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । शिक्षक आन्दोलन काठमाडौँमा जारी छ ।