काभ्रे,
सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै छ । ‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
भिटामिन ‘ए’ झण्डै ३२ लाख बालबालिका र जुकाको औषधि झण्डै २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको थापाले जानकारी दिनुभयो । थापाले ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै यसअघि खोप लगाउन छुटेका बालबालिकालाई खोप पनि लगाइने बताउनुभयो ।