सन्जीता राउतको फेसबुकबाट

फागुन २३,
२०७७,काभ्रे/

काभ्रेको तेमाल गाउँपालिका वडा नं १ सर्स्युखर्कमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा १४७ जनाले सेवा लिएका छन् । १ नं. वडा कार्यालय सर्स्यूंखर्कको आयोजनामा शनिबार भएको शिविरमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सेवा प्रदान गरिएको थियो ।

शिविरमा स्वास्थ्यकर्मीहरुको संयोजन गरेका मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रामशरण श्रेष्ठले वृद्धवृद्धाहरुको हाडजोर्नी, प्रेसर, सुगर, ग्याष्ट्रिक, दम, छातीको संक्रमण, ज्वरो लगायतका जनरल समस्याहरुको परीक्षण गरेको जानकारी दिए । उनिहरुको समस्याहरुबारे आवश्यक परामर्श र परीक्षणका साथै १३६ लाई निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा इसिजीको पनि व्यवस्था रहेको डा. श्रेष्ठले जानकारी दिए ।

शिविरमा डाक्टर श्रेष्ठका साथै मेथिनकोट अस्पतालका स्टाफ नर्स, ल्याव टेक्निसियन, भक्तपुर अस्पताल लगायत अन्य अस्पतालका समेत विशेषज्ञ, महिला स्वास्थ्य स्वयं सेविकासहित सामुदायिक स्वास्थ्य ईकाई सर्स्यूंखर्कका प्रमुख लोकनाथ चिमौरियाको स्वास्थ्य टोलि खटिएका थिए ।

वडाध्यक्ष मानबहादुर श्रेष्ठले वृद्धवृद्धा मार्गदर्शक व्यक्तित्व भएको र उहाँहरुको हेरचाहमा वडाको ध्यान केन्द्रित भई यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी आर्थिक वर्षमा पनि वडा स्तरमा जेष्ठ नागरिकको हितकारी कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Facebook Comments Box