बैशाख २६,
२०७८,काभ्रे/

जिल्लामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज होम आइसोलेसनमा रहेका धुलिखेल–११ डाँडागाउँका २७ र ५८ वर्षका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनिहरुको शनिबार राति निधन भएको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको छ । २७ वर्षका पुरुषलाई २४ गते र अर्का ५८ वर्षका पुरुषलाई शनिबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले शनिबार टेलीफोन सम्पर्क गरेर केही समस्या भए अस्पताल आउन भने पनि राति नै निधन भएको दाबी गरे ।

यस्तै आज मृत्यु हुनेमा धुलिखेलकाका ६२ बर्षीय एक महिला र भक्तपुरका ७६ बर्षीय महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै पनौती नगरपालिकाका ८७ बर्षीय महिलाको पनि उपचारकै क्रममा शिर मेमोरियल अस्पताल बनेपामा आजै मृत्यु भएको छ । जिल्लामा संक्रमणका कारण निधन हुनेहरुको संख्या ९० पुगेको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन १२ जना संक्रमित निको भएका छन् । ४० जना संक्रमित थपिएका छन् । जिल्लामा आज थपिएका ४० जना नयाँ संक्रमित मध्ये बनेपाका २१ जना रहेका छन्। त्यस्तै धुलिखेलका ९ जनालाइ संक्रमण पुष्टि भएको छ। यसैगरी पनौती नगरपालिकामा ४ जना, मण्डनदेउपुर नगरपालिकामा २ जना, पाँचखाल नगरपालिकामा २ जना, नमोबुद्ध नगरपालिकामा २ जना गरी आज जम्मा ४० जनालाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९९ पुगेको छ । जसमा ४९८ जना महिला र ६०१ जना पुरुष रहेका छन् ।

Facebook Comments Box