काभ्रे,
नमोबुद्ध क्षेत्र विकास समितिका पहिलो अध्यक्ष शंखबुद्ध लामाको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध, पनौती र धुलिखेल नगरपालिकाको सिमानामा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नमोबुद्धको संरक्षण, सम्बर्धन तथा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पहिचान अभिबृद्धि तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशले गठन गरेको विकास समितिको बैठक बुधबार बसेको हो । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक, आर्थिक, पुरातात्विक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण नमोबुद्ध क्षेत्रको विकास समितिको अध्यक्षमा केही दिन अघि बागमती प्रदेश सरकारले लामालाई नियुक्त गरेकोे थियो ।
बैठकले नमोबुद्ध क्षेत्र विकास समितिको गठन आदेश २०८२ को केही दफा, उपदफामा छलफल गरी संशोधन गर्ने निर्णय गरेको छ । त्यसरी नै कार्यालयको अस्थायी व्यवस्थापन, कार्यकारी निर्देशकको नियुक्तिको लागि पदपुर्ति समिति गठन, बैंक खाता सञ्चालन, समितिको वैवसाईट निर्माण गर्ने, समितिको कार्य सञ्चालनको लागि ऐन, नियम निर्माण गर्ने, तीनै तहका सरकार समक्ष बजेट माग गर्ने र समितिको छाप र लोगो निर्माण लगायतको निर्णय गरेको छ ।
बैठकमा सल्लाहकारहरु नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, ठंगुटाशी छ्योईलिङ्ग गुम्बाका उपाध्यक्ष आचार्य कर्म फुर्पु शेर्पा लगायतको उपस्थिति रहेका थिए । समितिका सदस्यहरु जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामाङ, नमोबुद्ध नगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम लामा, वडा नं. ११ का वडाध्यक्ष कृष्णबहादुर लामा, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रतिनिधि र स्थानीय बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।














