काभ्रे,
आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको छ । आयोगको निगारानीमा कात्तिक १८ देखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको निर्वाचन अकिारी उमेश राईले जानकारी दिनुभयो । काभ्रे जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरि १३ वटा स्थानीय तह छन् । निर्वाचन आयोग काभ्रेका अनुसार जिल्लामा तीन लाख १० हजार ६३ मतदाता छन् । तीन सय ८९ मतदान केन्द्र रहनेछन् भने निर्वाचनमा तीन हजार एक सय १२ जना कर्मचारी खटाइने आयोगको भनाइ छ ।
प्रतिनिधिसभा र प्रदेश सभाका ६ पदका लागि दुई महिला र एक दलितसहित ६४ जना उम्मेदवार छन् । विगतका निर्वाचनमा जस्तो मतबदर नहोस् र सबै मत गणना योग्य बनाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम लागू गरिएको हो । निर्वाचनको निष्ठा र औचित्य जोगाउँदै मर्यादितरुपमा निर्वाचन सम्पन्न गर्नका लागि घर घरमा पुगी मतदातालाई शिक्षा दिदै आएका छन् । हाल जिल्लाका सबैजसो ठाउँमा नमूना मतदान भइसकेको र परिणाम सन्तोषजनक रहेको आयोगको भनाइ छ ।