रोशी सहकर्मी–चैत्र ८,
२०७६,काठमाण्डौ/

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल फेसबूक लगायतमार्फत नेपालमा कोरोना भएको भन्दै भ्रम फैलाउने युवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रामछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् । उनले मोबाइलमार्फत भ्रमपूर्ण कुराहरु रेकर्ड गरी तयार पारेको अडियो सामाजिक सञ्जालमा शेयर गरेको भेटिएको छ । अफबाहपूर्ण सो अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा एक जनामा पनि देखिएको छैन । तर, सरकारले संक्रमण भित्रन सक्ने भन्दै उच्च सावधानी अपनाएको छ ।
शुक्रबारमात्रै देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दूरीको यातायात बन्द गर्नेदेखि ९ गतेदेखि अन्तराष्ट्रिय उडान स्थगन र अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् ।
यस्तै २५ जना भन्दा बढी भेला हुन रोक लगाइनुका साथै सभा सम्मेलन नगर्न पनि सरकारले भनिसकेको छ ।

Facebook Comments