यश कुमार परियार–असार २४,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिकाले नगर भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्ड र मोबाइल वितरण गरेको छ । आज एक कार्यक्रमका बिच ११ वटै वडामा रहेका ८२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगर प्रमुख टि.पि. शर्मा तिमल्सिना र नगर उपप्रमुख राम देवि तामाङले संयुक्त रुपमा संचार सामग्री हस्ताण्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले सुचना आदनप्रदान गर्न थप सहयोग पुग्ने अपेक्षाका साथ गरिएको यस कार्य सम्भवत काभ्रेको १३ वटै स्थानिय तहमा पहिलोपटक नमोबुद्धले थालनी गरेको बताए । बढ्दो महामारीको समयमा स्वास्थ्यकर्मीहरुको भुमिकाको बारेमा चर्चा गर्दै नगर प्रमुख शर्माले नगरमा रहेका सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क विमा गरीदिने समेत प्रतिवद्धता जनाएका छन् । उनले अब देखि स्वास्थ्य स्वयंसेविकाहरुको निमित्त महिनाको १ हजार थप भत्ता र संचार खर्च बापत वार्षिक २५ सय उपलब्ध गराउने पनि बताए ।

स्वास्थ्य शाखा संयोजक राजु वोगटिका अनुसार सिमकार्ड र मोवाइलको लागि नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/७७ मा २ लाख ११ हजार विनियोजन गरेको थियो । मोबाईल र सिमकार्ड वितरण गर्नुको उद्देश्य भनेको सुचना आदन प्रदानमा थप सहजता ल्याउन र सबैलाई सञ्चारको पहुँचमा पुर्याउनु रहेको संयोजक वोगटिले बताए ।

कार्यक्रममा नगर प्रमुख टि.पि.शर्मा तिमल्सिना, नगर उपप्रमुख राम देवि तामाङ, प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँई, मेथिनकोट अस्पताल व्यवस्थापन समिति र वडा नं ४ का अध्यक्ष उद्धव काफ्ले, विभिन्न वडाका अध्यक्षहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook Comments