काभ्रे,
चाडबाड लक्षित सहुलियत मूल्य पसल आजबाट सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो ७ रुपैयाँले सस्तोमा विक्री वितरण हुने जानकारी दिनुभयो ।
च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छूट दिइने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाडौँ उपत्यकामा रहेका आठओटा विक्री केन्द्र र तीनओटा घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा विक्री स्थल रहनेछन् । त्यसबाहेक ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण मौज्दात रहने जनाइएको छ ।