काभ्रे,
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काभ्रेका एक सहित दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामा छन् । बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् ।
सो ट्राभल्समा काम गर्दै आएका पदम मनोजको सालो हुन् । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतलाई एक करोड ‘घुस’ दिएको ट्राभल्स सञ्चालकले प्रहरीलाई बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई करिब एक करोड रुपैयाँ ‘घुस’ दिएको मनोज र पदमले बयान दिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतको भनाई छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।