यश कुमार परियार–असोज ७,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले विद्यालय खोल्ने तयारी गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष डि.बि. लामाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका भित्र संचालित विद्यालयहरुले कार्ययोजना बनाई विद्यार्थी सिकाई सहजिकरण गर्न निर्देशन दिएको हो ।

गाउँपालिकाले आज (बुधबार) जारी गरिएको सुचनामा ‘सिकाई सहजिकरण निर्देशिका, २०७७ को दफा २ (छ) को सिकाई सहजिकरण प्रणाली अपनाई दफा ३ अनुसार विद्यार्थी पहिचान, अभिलेखिकरण तथा वर्गिकरण गरी दफा ३३ को उपदफा २ बमोजिम सिकाई सहजिकरण गर्न तग गरेको विद्यार्थी सिकाई सहजिकरण गर्ने मापदण्डहरु गाउँकार्यपालिकाले मिति २०७७ असोज ७ गते मा स्वीकृत गरेको हुनाले विद्यालयहरुले सोहि बमोजिम कार्ययोजना बनाई विद्यार्थी सिकाई सहजिकरण गर्नु गराउनुहुन अनुरोध छ’ भनिएको छ ।

बैठकले विद्यालयहरुले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक स्टाफ बैठक, विद्यार्थी तथा अभिभावक सँग अन्तर्क्रिया गरी कार्ययोजना बनाउन भनेको छ । विद्यालयले ३० जना भन्दा कम विद्यार्थी संख्या भएमा दैनिक १ सिफ्टमा सिकाई सहजिकरण गर्नुपर्नेछ । ५० भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरुले दैनिक २ सिफ्टमा सिकाई सहजिकरण गर्नुपर्ने छ । यस्तै ७५ भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरुले दैनिक २ सिफ्ट हुनेगरी बार अनुसार सिकाई सहजिकरण गर्नुपर्ने छ ।

यसैगरी १ सय भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरुले तहगत (१–३, ४–५, ६–८), कक्षागत/बारगत दैनिक ३ सिफ्ट हुनेगरी सिकाई सहजिकरण गर्नुपर्ने छ । १ सय भन्दा माथी विद्यार्थी संख्या भएका विद्यालयहरुले तहगत (१–३, ४–५, ६–८, ९–१०, ११–१२), कक्षागत/बारगत दैनिक ३ सिफ्ट (बढिमा १ सिफ्टमा ७५ भन्दा बढि नहुनेगरी) कार्ययोजना बनाई सिकाई सहजिकरण गर्नुपर्ने छ । बाल विकास केन्द्र संचालन भएका विद्यालयहरुले विद्यार्थी संख्याका आधारमा छुट्टै रुपमा संचालन गरी सिकाई सहजिकरण गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

Facebook Comments