काभ्रे,
आजदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइँदैछ । सरकारले आजदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गरेको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने बताउनुभयो ।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो । दुई सातासम्म चल्ने खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसनले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।