काभ्रे,
राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालयताका कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । बोर्डले ११ र १२ को विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा दिने व्यवस्था गर्ने भएको छ ।
बोर्डको यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका यस्तो परीक्षामा सहभागी हुन पाउने जानकारी दिनुभयो ।
यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको बोर्डको अनुमान छ । मौका परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या हेरेपछि उनीहरूलाई कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिने परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।
बोर्डका अनुसार विगतमा परीक्षा दिएर अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थी आउने वैशाखमा हुने परीक्षामा सहभागी हुन पाउने छन् । विद्यार्थीलाई मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ ।