बैशाख ५,
२०७८,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाका युवाहरुका लागि नेतृत्व विकास गर्ने उद्देश्यसहित नमुना नगर युवा सभाको अभ्यास कार्यक्रम सुरु भएको छ ।

आइतबारदेखि सुरु भएको कार्यक्रमको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे । कार्यक्रम नमोबुद्ध नगरपालिका नगर युवा परिषदको आयोजना तथा राष्ट्रिय युवा परिषद तथा सरोकार समाज नेपालको समन्वयमा सञ्चालन गरिएको हो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका विभिन्न वडाका १६ देखि २४ बर्षसम्मका ३५ जना युवाको सहभागिता रहेको छ । सहभागीहरुलाई नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल र युवा अभियन्ता सन्जीप न्यौपानेले प्रशिक्षण दिनेछन् ।

मंगलबारसम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नेतृत्व विकासका लागि नगरपालिकाले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएकोमा त्यसैको निरन्तरतास्वरुप नमुना नगर युवा सभाको अभ्यास कार्यक्रम आयोजना गरिएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले राज्यको मार्गचित्र कोर्ने अभ्यासको थालनी नमोबुद्ध नगरपालिकाले गरेको बताए । उनले समाज परिवर्तनका लागि संवाहक बन्नसमेत कार्यक्रममा सहभागी युवाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव जनार्दन रिजाल, युवा अभियन्ता सन्जीप न्यौपानेले शुभकामना दिएका थिए । कार्यक्रमकै अवसरमा नगर युवा परिषदको लोगोसमेत सार्वजनिक गरिएको थियो ।

Facebook Comments Box