जेठ १,
२०७८,काभ्रे/

जिल्लामा आज (शनिबार) थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज १० जना संक्रमणमुक्त हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मण्डनदेउपुरका ८९ वर्षीय पुरुष र सिन्धुपाल्चोकका ५० वर्षीय पुरुषको हिँजो मृत्यु भएको कार्यलयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

त्यस्तै धुलिखेलका ७५ वर्षीय पुरुष, ६५ वर्षीय महिला, ७९ वर्षीय महिला र रोशी गाउँपालिकाका ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको डा. झाले जानकारी दिए । मृतक सबैको धुलिखेल अस्पतालमा निधन भएको हो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

यस्तै जिल्लामा आज थपिएका ९८ संक्रमित मध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाबाट ५६ जना छन् । यस्तै बनेपा नगरपालिकाबाट ३१ जना, मण्डनदेउपुर नगरपालिकाबाट ९ जना, भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिकाबाट १/१ जना रहेका छन् । योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ५ हजार ५ सय १९ पुगेको छ ।

जिल्लामा अहिले १८ सय ११ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमध्ये १७ सय २६ जना होम आइसोलेसनमा र ८५ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको उनले जानकारी दिए ।

Facebook Comments Box