काभ्रे,
बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ । यसका लागि बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढिसकेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । उँहाको अनुसार एकीकृत प्रादेशिक कार्यालय दशैं अगावै सञ्चालनमा ल्याउने तयारी भएको छ ।
बागमती प्रदेशले गत वर्ष ७२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षमा भने करिब ६२ अर्ब रुपैयाँको ल्याएको छ । प्रदेशको बजेट कार्यान्वयन गर्नका लागि कर्मचारी र आवश्यक संरचना समेत नभएको उल्लेख गर्दै उनले त्यसका लागि प्रादेशिक कार्यालय खोल्न लागिएको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठका अनुसार प्रादेशिक कार्यालयबाट प्रदेशका सबै मन्त्रालयहरुको सेवा एकीकृत रुपमा प्रवाह हुनेछ । कार्यालयका लागि भवनको खोजी गरिराखेको र संघीय सरकारसँग समेत समन्वय भइराखेको पनि उँहाले जानकारी दिनुभयो ।