काभ्रे,
असोज दोस्रो साता आएको बाढीपहिरोबाट घरबारविहीन भएका रोशी गाउँपालिकाका परिवारलाई अस्थायी आवास निर्माण भैरहेको छ । रोशी गाउँपालिका– २ नारायणटारमा बाढीबाट घरबारविहीन भएका मध्ये ३७ घरपरिवारले अस्थायी आवास पाएका छन् । त्यस्तै रोशी–९ स्थित नार्केमा १५ अस्थायी आवास निर्माण भइरहेको पालिका अध्यक्ष दिनेस लामाले बताउनुभयो । अन्य पीडित परिवारको पनि आवास निर्माण भइरहेको छ ।
अस्थायी आवास बनाउन रोशी गाउँपालिकाको पहलमा सेभ द चिल्ड्रेनको सहयोगमा प्रतिटहरा ५० हजार रुपैयाँ खर्च गरिएको छ । यसबाहेक संस्थाको सहयोगमा शौचालय, खानेपानी ट्याङ्की, न्यानो कपडा पनि उपलब्ध गराइएको छ ।
अध्यक्ष लामाको अनुसार संस्थाले अस्थायी आवास निर्माण गर्न आर्थिक, प्राविधिक एवं आवास निर्माणको डिजाइन दिनुका साथै कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले सहकार्य र समन्वय गरेको थियो ।
गाउँपालिकाको स्रोत प्रशस्त नभएकाले अस्थायी आवास निर्माणका लागि संघसंस्थामा पहल गरिरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
बाढीपहिरोले रोशी–१, २, ९ र ११ नम्बर बढी प्रभावित भएका थिए । बाढी र पहिरोबाट पालिकाभर ५५० घरधुरी पूर्णरूपमा क्षति भएका थिए ।