काभ्रे,
नेपालीहरुको महान पर्व बडा दशैं नजिकिएसंगै खसीबोका किनबेचले बनेपाको सडक अस्तव्यस्त बनेको छ । बनेपामा हरेक वर्ष दशैँमा हजारौँ खसीबोका किनबेच हुने गर्छ । व्यवस्थित खसीबजारको अभावमा यस वर्ष पनि व्यापारीले सडकमै खसी किनबेच गर्न थालेपछि सडक अस्तव्यस्त बनेको हो । अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि व्यापारीले सडकमै खसीबोका किनबेच गर्दा सडक थप अस्तव्यस्त बनेको स्थानीयले गुनासो गरेका छन् । दैनिक हजारौँको सङ्ख्यामा गाउँबाट खसी ल्याएर बेच्ने व्यापारीले चारदोबाटो क्षेत्र अव्यवस्थित पारेको स्थानीयहरु बताउदछन् ।
ट्राफिक प्रहरीलाई सडक र फुटपाथको व्यवस्थापन गर्न नै अप्ठ्यारो पारिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख राजेश सिलवालले बनेपाकै केन्द्र चारदोबाटो क्षेत्रमा सडकछेउमै खसीबोकाको बिक्री केन्द्र बनाउँदा समस्या थपिएको बताउनुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सडकमा हुने खसीबोकाको कारोबार रोक्न आफूहरूले प्रयास थालेको बताउनुभयो । चाडपर्वको समयमा दैनिक लाखौँ रुपियाँका खसीबोका व्यापार हुने उद्योग वाणिज्य सङ्घ काभ्रेका महासचिव रवीन्द्र वैदारले बताउनुभयो ।