काभ्रे,
जाडो याम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन् । दशैं अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम सुरु भएसँगै संक्रमण कम हुँदै गएको र बिरामी कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिनुभयो । उहाँको अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना र एक जना आईसीयूमा उपचार भइरहेको छ ।
उहाँले दशैंको बेलामा अस्पतालले डेंगु बढ्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामी कम भएको बताउनुभयो । सूचना अधिकारी गौतमले इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेको जानकारी दिंदै अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेको बताउनुभयो ।