काभ्रे,
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ । गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले जानकारि दिनुभयो । थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ । बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको जाहेरी दिएकि छिन् ।
लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने बताईएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ । उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने उल्लेख छ ।