रोशी सहकर्मी– कार्तिक ०३
यातायात व्यवसायीले प्रयाप्त मात्रमा क्युका बस नहाल्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न विवश छन । यस बर्षको दशैंमा घर जाने र आउने मालबाहक गाडी तथा बसको छतमा बसेर जोखिम पूर्ण यात्रा गर्न बाध्य भए ।
यातायातको अभाव देखाउँदै ग्रामीण भेगबाट मालबाहक गाडीमा यात्रु बोक्ने गरिएको छ । कम जनशक्ती, स्रोत त साधनको अभावका कारण सबै क्षेत्रमा ट्राफिक प्रहरी नहुँदा ग्रामीण भेगमा बसले पनि क्षमता भन्दा बढी यात्रु बोक्ने तथा खाद्य सामग्री पनि लैजाने हुँदा जोखिम बढेको छ । त्यस्तै मलाबाहक गाडीले पनि यात्रुहरु बोक्दा झनै जोखिम बढेको स्थानीयले गुनासो गरेका छन । शहरी इलाकामा मात्र ट्राफिक प्रहरी हुँदा ग्रामीण भेगमा बढी दुर्घटनाका कारण ठूलो क्षति हुने गरेको उनीहरुको भनाई छ ।
यता जिल्ला ट्राफिक कार्यालय काभे्रले मालबाहक गाडी र क्षमता भन्दा बढी बोक्ने बसलाई कारवाही सुरु गरेको जनाएको छ । ७० भन्दा बढीलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभे्रले जनाएको छ ।
काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ साँझाकोटमा मालबाहक गाडी निसानले क्षमता भन्दा बढी यात्रु बोकेर दुर्घटना भएको र उता सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं. १० भोटसिपाको बडहरे चोकमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण यात्रुबाहक बस दुर्घटना भएपछि प्रहरीले सवारी साधनमा कडा निगरानी गर्दै ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभे्रका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दामोदर सिलवालले गाउँ–गाउँबाट क्षमता भन्दा बढी यात्रु बोक्ने र माल बाहक गाडीले यात्रु बोक्ने गरेको गाडीलाई नियन्त्रणमा लिई कारवाही थालनी गरेको बताए ।
जिल्ला भित्र भदौ महिनामा दुर्घटनाबाट मृत्यू हुनेको संख्या शुन्य रहेको भएपनि असोज महिनामा एउटा निसान गाडी दुर्घटना हुँदा दूई जनाको मृत्यू भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । “जिल्लाको मुख्य राजमार्गहरुमा प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा चेक जाँच गर्दै आइरहेका छौँ”, ट्राफिक प्रमुख सिलावलले भने “यात्रु बोक्ने मालबाहक गाडीलाई नियन्त्रणमा लिएर यात्रुहरुलाई यात्रुबाहक बसमा हालेर पठाउने र त्यस्ता ७० भन्दा बढी गाडी कारवाही गरेका छौँ” ।

Facebook Comments