काभ्रे,
आज देशका अधिकांश स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमीसँगै स्थानीय वायु सक्रिय भएकाले आज घाम लाग्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यही प्रणालीको प्रभावले अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ भने केही ठाउँमा पानी पर्न रोकिएको छ । तर अहिले पानी पर्न रोकिएको ठाउँमा पनि दिउँसो फेरि पानी पर्ने उहाँले बताउनुभयो ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।