रोशी सहकर्मी–श्रावण २,
२०७७,काभ्रे/

जिल्लाको चौरीदेउराली गाउँपालिकाले ७० वर्ष उमेर कटेका नागरिकको निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ७० वर्ष उमेर कटेका नागरिकको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया लगायत उपचार निःशुल्क गरिने उल्लेख गरेको छ ।

गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकी तथा अस्पतालबाट उक्त सेवा दिइने बताए । उनले नीति तथा कार्यक्रम, बजेट घोषणा कार्यक्रममा ७० वर्ष उमेर नाघेका नागरिकको सूची तयार गरी सामान्य रोगका लागि समेत स्थानीय स्वास्थ्यकर्मी मार्फत उपचार गर्न प्रोत्साहन गरिने जानकारी दिए । यसै क्रममा उनले वडा नम्बर ५ मा प्रदेश सरकारको बजेटबाट १५ श्ययाको अस्पताल निर्माणाधीन अवस्थामा रहेको पनि जानकारी दिए ।

यस्तै गरी गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टिन बनाउने पनि उल्लेख गरेको छ । आफ्नो वार्षिक नीति तथा कार्यक्रममा कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आर्थिक वर्षको शुरुआतसँगै नौ वडामै क्वारेन्टिन व्यवस्थापन गरिने र थालिनी भईसकेको जनाइएको छ । उनका अनुसार कोरोनालगायत महामारीको बढ्दो जोखिम न्यूनीकरण गर्न आवश्यक बजेट छुट्याइएको छ । हाल पालिकास्तरमा ३० बेडको क्वारेन्टिन व्यवस्थित गरिएको छ ।

गाउँपालिका अध्यक्ष गौतमले आर्थिक वर्ष २०७७/०७८ को निमित्त रु ५२ करोड ३५ लाख तीन हजार बराबरको बजेट पेश गरेका छन् । गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत कृषि, सिँचाइ तथा पशुपालन, शिक्षा, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकूद, संस्कृति तथा पर्यटन, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास कार्यान्वयनमा जोड दिईएको छ ।

घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्धः

यसैबिच गाउँपालिकाले आर्थिक बर्षको सुरुमै घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मानदास लामाले पालिकाभित्रको सबै क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी दिनुभयो । साउन १ गतेदेखि लागु हुने गरी उत्पादन, बिक्री वितरण र ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको गाउँपालिकाले जनाएको छ । पालिकाले साउन १५ गतेभित्र पालिकाकाभित्रका पसल सञ्चालकहरुहलाई मादक पदार्थ नष्ट वा फिर्ता गर्न आग्रह गरेको छ ।

Facebook Comments Box