काभ्रे,
जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपा ९ नयाँबस्ती बस्दै आएकी शर्मिला उप्रेतीको हत्यामा संलग्न भएको आरोपमा प्रेमिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार रामेछापको मन्थली गाउँपालिका– १३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षीया शर्मिला उप्रेतीलाई दाउरा प्रहार गरी हत्या गरेका हुन्। उप्रेती र सुनारबीच विगत २ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।
प्रहरी नायब उपरीक्षक घलेका अनुसार शनिबार बनेपा– १३ भगवान थुम्कीस्थित सामुदायिक वनको भिरालो जमिनमा रहेको चिलाउनेको फेदमा अपरिचत महिलाको शव फेला परेको थियो। महिलाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षकको कमान्डमा र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टरको टोलीले अनुसन्धान थालेको थियो। मृतकका बुवाले शवको सनाखत गरेका हुन्।
प्रेमिकाको हत्या गरी बनेपा नगरपालिका– १० इँटाभट्टामा लुकिछिपी रहेको अवस्थामा प्रेमी सुनारलाई पक्राउ गरिएको हो । उनले उप्रेतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। दुई वर्षदेखिको सम्बन्धपछि सुनारले विवाह गर्न गरेको अनुरोध आलटाल गरेपछि अर्कैसँग लागेको शंका गरेर दाउराले हानेर हत्या गरेको सुनारले स्वीकार गरेको प्रहरीले बताएको छ। हत्या गरी मृतककै सलले शव झुन्ड्याएर आएको उनले प्रहरीसमक्ष बयान दिएका छन्।
थप अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चार दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उप्रेतीको स्थायी ठेगाना काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नम्बर १ डाँडाखर्क हो ।












