काभ्रे,
सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पतालहरुलार्ई पाँच लाख ५० हजार थान सिटामोल वितरण गरेको छ । डेंगी संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो।
डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै विभिन्न औषधि तथा भण्डारण केन्द्रमा औषधि भण्डारण गरी राखिएको र आवश्यकताअनुसार आपूर्तिको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई सिटामोलको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ।